
मदन चौधरी:- चौरको बीचमा ठडिएको बाँसको लिंगोमा यौनजन्य चित्र कुँदिएका पुत्ला झुण्ड्याइएका छन्। चित्रमा केटाकेटी बीचको यौन क्रियाकलाप प्रष्टै झल्किएको छ। सरस्वती पूजाका दिन चौरमा गाडिने यो लिंगोलाई हामी ´समत´ भन्छौं। गाउँ बेहरी– ९ डुमरवाना। जिल्ला बारा। ठाँटी अर्थात् काठैकाठले बनेको भवनमा दुधौरा बाल युवा क्लब बसेको छ। क्लबअगाडिको चौरमा ठड्याइएको लिंगोनेर म पोहोर होलीमा ठिङ्ङ्ग उभिएको थिएँ। त्यस दिन काठमाडौं सायद फोहर पानीले निथ्रुक्कै भिजिसकेको थियो, यहाँ भने भोलिपल्टको तयारीमा हामी व्यस्त थियौं। पहाडमा फागुन शुक्ल पुर्णिमाका दिन होली मनाइन्छ। तराईमा भने त्यसको भोलिपल्ट विशेष रूपले मनाइन्छ। थारू संस्कृतिअनुसार पूर्णिमाको दिन घरघरै पूजा चल्छ। त्यो दिन रातभर जागा बसेर भोलिपल्ट सूर्य नउदाउँदै सबै मिलेर समत जलाउने चलन छ। हामी पनि चौरमा जम्मा भएर रमेका थियौं रातभर– रमेश, दिनेश, सुरेन्द्र, रविन्द्र, अनि म। यौन बात् रात परेपछि हामीकेटाहरू छपक्कै चौर ढाकेर बस्यौं। झलमल्ल बलेका बत्तीबीच कोही चेस खेल्न मस्त थिए, कोही तास, कोही क्यारेमबोर्ड खेल्न। म पनि हाई काढ्दै तासका पत्ती गन्दै थिएँ। यो चाडको सबभन्दा रोचक प्रसंग भनेको यौनको कुरा हो।
श्रीपञ्चमीमा गाढेको समतलाई पूर्णिमाको भोलिपल्ट सूर्य उदाउनुपुर्व नजलाएसम्म यौनजन्य कुरा गर्न गाउँका युवालाई छुट हुन्छ। सबै साथीहरू यौनजन्य कुरामा मख्ख हुन्छन् यसबीच। कसैले आफ्ना यौन अनुभव सुनाउँछन्। कोही वल्लोपल्लो गाउँका राम्री युवतीको प्रसंग झकेर ठट्टा गर्छन्। ´म त्यसलाई भगाइदिन्छु, त्यसलाई .....´ उल्लेख गर्न नमिल्ने धेरै कुरा साथीभाइका मुखबाट एकपछि अर्को सुन्न पाइन्छ। अहिले ती कुरा झट्ट सम्झँदा आफैंलाई लाज लागेर आउँछ। नढाँटी भन्दा त्यो माहोलमा आफैं पनि बोल्न पछि परिन्थेन। यस्तै छाडा संवाद हुने भएकाले छोरीचेलीलाई भने त्यहाँ जम्मा हुन बर्जित हुन्छ। खानाको मोज समत जलाउन जागा बस्नेलाई विभिन्न घरबाट पालैपालो खाना खुवाउने चलन छ। रातको १ बजे घरपूजाका लागि बोलाइएका ठाउँमा गएर बँदेल, परेवा र बोकाका मासुसहित विभिन्न परिकार खान पाइन्छ। बिहान दुई बजे फेरि सबै चौरमा फर्कन्छन्। साथीहरूले केही खानेकुरा लुकाएर पनि ल्याएका हुन्छन्। यौन संवादबाट धित मरेपछि खानाको मज्जा लिन कोही पछि पर्दैनन्। समतको सतगत बिहानको ४ बजेको छ। सबै खेल बन्द भएका छन्। समतको तल्लो भाग परालले बेरिएको छ। साथीको झुण्ड समतका वरिपरि लागेको छ। परालका पाँच लुक्का (लामो मुठ्ठा) ले समतलाई बेरिएको छ। पाँच लुक्कामा एक्कैपटक आगोको लप्का झोसेपछि समत जल्न सुरू हुन्छ। सबैजना चिच्याउँदै हल्ला गर्छन्। जलेका समतका अवशेषलाई गाउँ कटाउनुपर्ने चलन भएकाले हामी केही साथी समतका अवशेष बोकेर गाउँको सिमातिर लाग्यौं। अघि बढ्दै जाँदा हामीभन्दा पर आगोको साना लप्का देखिन थाले। सबै साथी चिच्याए। परबाट हामीतिर आउँदै गरेको त्यो झुण्ड पल्लो गाउँ बकुलियाका साथी रहेछन्। समतका अवशेष आफ्नो गाउँका किनार कटाउन उनीहरू हाम्रा गाउँतर्फ बढेका रहेछन्। यताका साथीहरू बकुलियाका ठिटीका नाममा यौनसम्बन्धी चर्का चर्चा गर्थे त उताका ठिटा यताका ठिटीका बारेमा। एउटा भिन्नै संसारजस्तो। मौका यही हो छाडा बोल्ने। मनभरिका कुण्ठा पोख्ने। आखिर बात लाग्दैन।
देवर–भाउजू पर्व पूर्णिमाको भोलिपल्ट बिहान। दुधौंरा खोलामा नुहाइधुवाइ सकेर हामी घर लाग्यौं। घरमा पाहुनाको घुँइचो लागेको हुन्थ्यो। त्यसपछि खाना खाइसकेर सबै रङमा रम्न थाल्छन्। होलीलाई देवरभाउजु पर्व पनि भनिन्छ थारू संस्कृतिमा। भाउजुलाई देवरले रङ लगाइदिने र नरिवल, बदम, छोडा, सुकमेल लगायतका मसला खान दिने चलन छ। मैले पनि भाउजुलाई दिन बिहानै मसला जोरजाम गरेको थिएँ। मसला ख्वाएपछि बल्ल रङ लगाउन सुरू हुन्छ। पहाडमा झैं न यहाँ लोला हिर्काइन्छ, न पानीका पोकाले। रङ र ट्युबवेलको सफा पानीसँग खेल्दा साह्रै मज्जा आउँछ। मट्का (घैटो) फुटाउनु अर्को रमाइलो पक्ष हो होलीको। मट्का फुटाउन क्लबअगाडिको चौरमा डोरी टाँगेर त्यसमा रङ भरिएको मट्का झुण्ड्याइएको थियो। मट्का फुटाउन एक किसिमको प्रतियोगितै हुन्छ। यसका लागि १५/१६ जनाको समूह गठन गरिन्छ। सबभन्दा तल ५ जना, त्यसपछि ४, ३, २ र १ गरी मान्छेका काँधमाथि मान्छे उभिएर माथिल्लो पंक्तिमा बसेकाले मट्का फुटाउने गर्छन्। लगभग २० फिट अग्लो स्थानमा झुण्ड्याइएको मट्का फुटाउन जो कोहीलाई हम्मे पर्छ। म पनि मट्का फुटाउने समूहमा थिएँ, सबैभन्दा तल्लो पंक्तिमा। काँधमा चढ्नेलाई धान्न साह्रै गाह्रो। हाम्रो समूहले जित्न सकेन। अर्को साथीको समूहले मट्का के फुटालेथ्यो माहोलमा चर्को ताली र रमाइलो हल्ला मच्चियो। मट्का फुट्दा निस्केको रङले वातावरण रंगीन बन्यो।
मट्का फुटाएपछि घरघर होली खेल्न जाने चलन छ। घरघर नाचगान गरेर चामल पैसा जम्मा गरिन्छ। बेचेको पैसा क्लबको कोषमा जम्मा हुन्छ। यो साल काठमाडौंमा रहँदा म समत, यौन वार्ता र मट्का ´मिस´ गरिरहेको छु। मेरो कानमा उही होलीको गित गुञ्जिरहेको छ : रामा खेले होली, लक्ष्मण खेले होली, आज पलङ्ग पर रोज रे गोरिया, कहाँवा गोदयले गोदाना? (राम पनि होली खेल्छन्, लक्ष्मण पनि होली खेल्छन्, एउटा खाटमा सुन्दरी देखिरहेकी छे, उसले काँ गएर होली ट्याटु लगाइन्?)